गजल

आजभोली मेरा गजलहरु आमा सँग भलाकुसारि गर्न चाहन्छन्,यद्यपि म उहाँलाई अब कहिलै देख्न, भेट्न र कुरा गर्न पाउने छैन, केवल महसुस गर्नेछु ।

दिन-रातको चपेटामा जल्दैछ साँझ किन?
हेर आमा! तारा सँगै ढल्दैछ साँझ किन?

पर्ख भन्यौ पर्खिराछु, बा आउने बाटो हेर्दै
आएनन् बा हुरी बोकी, चल्दैछ साँझ किन?

काकी जस्तै तिम्ले पनि रातो साडी लाए हुन्न?
उदास हुन्छ्यौ साँझ पर्दा छल्दैछ साँझ किन?

सब्का घर बत्ती बले, दिपावली खै गरेको?
दायाँ-बायाँ अरुकाँ चैं बल्दैछ साँझ किन?

हेर जुन कहाँ पुग्यो, हर रात यसै बित्छ
दु:खी पार्दै हाम्लाई मात्रै गल्दैछ साँझ किन?

सन्तोष परिक्षित
२०७० साल जेठ २२ गते बुधबार

Comments

Popular Posts