मेरो घर
मेरो घर:
भत्क्यो होला पिँढीको डिल,
मक्रालियो होला पालिको खाँबो,
लतार्यो होला पाङ्ग्रेलाई बाघले अहिले सम्म त,
चुँड्यो होला कुहिएर लुगा सुकाउने डोरी पनि,
एक-एक गरेर हराए होला बिजुलिबत्तिका चिमहरु,
खस्यो होला धुरिको कालो ढुङ्गो
र चुहियो होला पानी मझेरीमा,
खोल्यो होला अँगेनु मुसाले
र पुर्यो होला माटैमाटोले,
खायो होला मलसाँपले परेवाका दुवै बचेरा,
रोइरहे होलान् लिस्नाको डिलमा बसेर जोडी परेवा
माली गाईको गोठको पाली
भत्क्यो होला वर्खाको झरीले,
लग्यो होला पहिरोले
बाख्राले पार ताप्दै घाँस चर्ने माथ्लो खरबारी,
भासियो होला अब त
हाम्ले भलिवल र गिर खेलेको ठूलोपाटो,
ढल्यो होला पक्कै टिमुरखोला छेउ
दगुरी खेल्दाको गन्तव्य बिन्दु बडरको रुख,
रुँदै होलान् कटुञ्जे र गाईखुरे
यावत् जिवात्माबाट बलात्कृत भइरहेर
बिर्सिसक्यो होला अमिलिगैरोले मलाई,
एकमुठी बाँचिरहेको होला मुलाबारीको धारो
मेरा मयल पखालेका यादहरु बोकेर,
उस्तै मिठो होला भुङ्खानेको पानी,
उस्तै रसिलो होला आँगनको डिलको सुन्तला,
उस्तै स्वादिलो होला बेलाउती,
सम्झनामा आईरहन्छ: कखरा सिकेको सरस्वती सदन
टिपिएको छैन माकुराको जालो,
बढारिएको छैन कसिङ्गर,
सखारै भगवानको मुर्तिमा
फूलअक्षता छर्न आमा छैनन् त्यहाँ,
भत्केको घरमुनिको गौँडा उकास्न
बा छैनन् त्यहाँ,
तिमी रुँदी हौली हाम्रो यादमा,
म बबुरो
सुन्दर सपनालाई पैसासँग साटिरहेछु मरुभुमीमा !!!
सुन्दर सपनालाई पैसासँग साटिरहेछु मरुभुमीमा !!!
पर्ख केहि बर्ष, फर्की आउनेछु
तिम्रा सबै घाउमा स्याहार सुसारको मलम लाउन,
अनि फेरि हराभरा हुनेछ हाम्रो संसार
केटाकेटी खेल्नेछन् त्यहि आँगनमा
जहाँ म लुट्पुटिएर हुर्केको थिएँ,
मेरो एक्लिएको घर ।
२०७१।०९।१६
काठमाण्डौँ
Comments
Post a Comment