आमा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEivBVTDzANsHNckKt8Rbpu1Urki2DQJdP2zxd5qYKkBY0afRAoJL58cbExQDRWsRD9ht4xD63BYjhtz67_wT127YG6D3Ny0khKOcLnlk_c2FLSF7lwM8Ghrfyzt_YJ8OlZAWT08Jp3uc9s/s320/171771xcitefun-4490110-lg.jpg)
आमा: तिमी भैदिएको भए!
घरको तगारो नाघ्दै गर्दा
एक्कासी मन चड्किएर अर्धचेतनामै बोलायो - आमा !
थाहा थियो तिमी थिईनौ त्यहाँ
त्यहाँ मात्र के र!
तिमीलाई गुमाएकै सिङ्गै एक बर्ष बितिसकेछ ।
मन पनि मनै त हो,
कहिले चेतनशील
कहिले अर्धचेतन त
कहिले चेतनाहीन भैदिँदो रहेछ ।
जब चेतनाहीन भैदिन्छ अनि गाँठो परेजस्तो
वाक्य रोकिएजस्तो
अनि फेरि उच्छ्वास निस्कन्छ
भूमरीमा परेजस्तो हुन्छु -आमा!
तिमी भैदिएको भए
यो घर, घर नै रहने थियो।
अनि मैले घुर्क्याउँदै रुन्चे मुख लाएर भन्न पाउने थिएँ
'यो भाण्टाको तिहुन मलाई मन पर्दैन किन पकाको?'
तर खाईरहेँछु
आँशु नुनिलो हुँदोरहेछ ।
तिमी भैदिएको भए
यो मन नाँच्ने थियो जङ्गलका पातहरुसँग
चराहरु गाईरहेका हुन्थे
खोलाको सुसेलीसँग म तिम्रै भाका सुन्दथेँ
अँगेनाको छेउमा ढुम्रोभरी फोक्सो भरेर
मुहारमा कालो लत्पतिँदा पनि
तिमी भित्रको सन्तुष्टि भोगेर
मन मडारिन्थ्यो आफैँभित्र खुशीले - आमा!
तिमी भैदिएको भय
पोल्टाभरी पोखिएर सुनाईरहन्थेँ
सहोदरी प्रहारहरु
कसरी यति बिघ्न तिखा हुन सकेका?
अनि धनेले कुलो मारेर
कसरी कटुन्जेको धानबारीमा कमिला नाचिरहेछन् ।
तिमी कस्तरी रोएकी थियौ
जब गाईखुरेमा हुर्काईएका सालका बुटाका टुप्पाहरु पिटिक -पिटिक भाँचिएका थिए
पहिलो पल्ट तिम्रो आँखामा आँशु देखेर
म पनि त रोएको थिएँ ।
अनि मैले गाली गर्दा भनेकि थियौ
भो! त्यसलाई भगवानले हेर्छन् गाली नगर ।
तिमीले सिकाएको सँस्कारलाई बोकेको छु,
अनि सिकेको छु कसैको साँध मिच्ने छैन ।
तिमी चिन्ता नगर
म आफ्नो खुट्टामा उभिन सक्षम छु ।
जहाँ हुनेछु तिमी सँगै हुनेछु ।
मन भरी तिम्रो याद साँचेर बाँचिरहेँछु ।
तर मनमा एउटै कुरा खट्किईरहन्छ,
आमा तिमी भैदिएको भए......
2070 Kartik 5, Tuesday
sachhai sachhai man chune bhawana lekhnu vayo dajju... sayad kasaile yo dukha mahasus garna chahadaina...really nice lines dajju...
ReplyDeletethank you so much Rojee sister
ReplyDeletedaami rai6a padhe ramro lagyo
ReplyDeletethank u so much sagar.
Delete