दशैें











दशैें

आऊ
तिमी यसपाली म सँग आऊ
म तिमीलाई देखाउनेछु
मेरो गाउँघर अनि म जस्तै
दुइ गाँस र एकसरो आङ ढाक्ने टालो
अनि चुहिएको छानो टाल्न
बर्षैभरी नङ्ग्रा खियाईरहेका अस्थिपञ्जरहरु
र तिनै अस्थिपञ्जर चर्ने गरेका भीरपाखाहरु ।


शहरमा यसैपनि घाम चाहिँदैन
अनि चाहिँदैन जुन पनि
एउटै घरको दुइ तल्लाबीच
हजारौँ माइल दूरी भएजस्तो
अनि आँखै अगाडी अत्याचार र थिचोमिचो देखेर
मुन्टो अन्तै फर्काएर हिँड्ने
विवेकी चेतनमनहरु भए ठाउँ
तिमी भुलिरहन मिल्दैन ।
तिमीले आँट गर्नुपर्छ
शहरको बिजुलीबत्ती छोडेर
मेरो झुपडीमा धिपधिपाईरहेको
टुकीमा तेल थप्न ।

मेरी बुढी आमाको फोक्सोभरीको हावा
रित्याएर पनि बल्न नमान्ने
अँगेनाको दाउरामा आऊ तिमी
सारा गरिबको कोदाको खोलेमा
नुन बनेर आऊ
मेरी नाङ्गी बहिनीको लाज ढाक्ने गरी
घाँघरमा आऊ
अनि
सैकडा छत्तिसे ब्याजमा ऋण काढेर
बिदेशिएका र उतै कर्मठ हात गुमाएर फर्केका
बलेदाजुको आँशु पुछ्दै
भाउजुको गुनिउँमा आऊ ।

सक्छौ भने घट्टे सार्कीको घट्टभरी
अनाज बनेर आऊ

कटुवाले दाजुको कटुवाले पाथी बनेर आऊ
अनि
बिन्द्री दमिनीको तिर्मिराईसकेका आँखामा
सियोमा धागो उन्न सक्ने ज्योती बनेर आऊ

आऊ
थोरै भएपनि ममता बोकेरै आऊ
खुशी बोकेरै आऊ
सल्लाघारीको चिसो हावा सँग
शान्ति बोकेरै आऊ
अझै पनि गतेरीको गह्रा र थुम्कामा
गोठालाहरु तिमीलाई पर्खेर बसिरहेछन् ।

यो साल
सबैको चूलोमा मीठो मसिनु
दुईछाक पाकिरहोस् ।
सारा दुःख भुलेर तिमीलाई म
बरा’फेदको लिङ्गेपिङमा
मच्चाईरहनेछु
चचहुई–सररर चचहुई–सररर........

जय दशैं

Comments

Popular Posts