घाम उदाउने देश




कविताः ''घाम उदाउने देश'' 

बा! हामी कता हिँडेको? 

छोराले सोध्यो । 

गन्तब्य त बाबुलाई पनि के थाहा र ?
एकछिनमा जवाफ्याे - घाम उदाउने देश ।
कहाँँ होला हँ?
सोच्यो तर बोलेन छोरो ।
अझै सोचिरह्यो -
बालुवा बोक्ने काममा गएकी आमा,
चुँडेको चप्पलको फिता ल्याइदिन्छु भनेर
आमा सँगै गएकी दिदी,
र बिहानै रिक्सा लिएर गएको दाजु
किन कोही फर्केनन?
गए कहाँँ?

आशा मा बित्यो रात
चउरमै ।
बाले भन्या थे-
आउँछन सबै भोली बिहान ।
बिहान त आयो
तर कोही फर्केनन् । 

हिजो दिउँसो
बालुवामा खेल्दा खेल्दै
ढल्यो ऊ पुङ्लुङ्ग
ढले छेउछाउका घरहरु पनि ।
पल्लोघर स्याने र चिम्सी त
पिँढिमै पुरिए रे ! 

ऊ खोजिरहेको छ
कहिले आउने हुन्
आमा, दिदी र दाजु पो !

देखिन्न टोलभरी कसैको
घर उभिएको ।
देखिन्न मुहार कसैको उज्यालो ।
देखिन्नन् सबै मान्छे आफ्नो टोलका । 

बाबुको हात समातेर
डाँडैडाँडा
हुलका हुल मान्छेका साथ
पाइला चालिरहँदा
उसले बुझ्दै गयो
याने कि सुन्दै गयो कि -
त्यो भुईँचालो थ्यो,
जस्ले
उसका आफ्नालाई
घर आउन रोकेको थ्यो ।
उसको प्यारो झुपडीलाई
नउठ्ने गरी पसारेको थ्यो ।

अझै सुन्यो -
प्रकृतिसँग
कसको के लाग्छ र?
धनी-गरिब बिचको
खाल्डो पुरियो रे भुईँचालोले । 

बा बोल्दै थिए -
नयाँ कालखण्डमा
नयाँ जिन्दगी शुरु गर्नुछ ।
ईतिहास साक्षी राखेर
सबै जात, धर्म र संस्कारका मानिसहरु
मिलेर अघी बढ्नुछ ।
देश रोइरहेको बेला
फेरी जगाउँनुछ
आशाका किरणहरु
फेरी ब्युँताउनुछ
स्वाभिमानले राष्ट्रलाई
सास रहुन्जेल
यही देशभित्र
आस्थाको अर्को देश बनाउँनुछ -
घाम उदाउने देश । 

उसले सबै त बुझेन
तर लागिरहेछ -
यो भुइँचालो पक्कै जाती छैन ।
सोच्दैछ अब-
उसको चप्पलको फिता लिएर
दिदी अाउलिन् कि नयाँ ठाउँमा
आमा र दाजु सँग भेट होला कि!
स्कुल गएर आफ्ना साथीहरु भेटिएलान् कि !
नयाँँ देशमा, जहाँ घाम उदाउनेछ ।

२०७२ जेठ १७

Comments

  1. छपक्कै धान रोपौँला आज असारे पन्ध्रमा
    नाचिद्दौ साथी नमानी लाज असारे पन्ध्रमा ।
    हलो र जुवा काँधैमा बोकी झर्नुभो हाम्रो बा
    यै त हो हाम्रो काम र काज असारे पन्ध्रमा ।
    रोपाहार् आए; बाउसे, आली खन्ने खै कताछन्?
    जाँगरै झिक सबैको माझ असारे पन्ध्रमा।
    रोपेर मुठी फल्नेछ मुरी काम् गर्ने आजै हो
    दै'च्युरा खाम्ला बसेर साँझ असारे पन्ध्रमा ।
    परिक्षित
    २०७२ असार १५, जावलाखेल

    ReplyDelete

Post a Comment

Popular Posts