बृद्धाश्रमको ढोकाबाट


कविताः बृद्धाश्रमको ढोकाबाट





















भीरैभीर, पाखैपाखा
जब दौडिन्छन्
यादका बालापनहरु
त्यहाँ आमा हुन्छिन् ।

पँधेरोमा
शनिबारे होहल्लामा
चिप्लिएर जब चोट लाग्छ घुँडामा
त्यहाँ आमा हुन्छिन् ।

गोठालोबाट
‘तिल्की गाई’
बत्तिएर पस्छिन्
छिमेकीको बालीतिर
र बेलुका जब छिमेकी
तगारो कुर्दछन्,
बचाउनलाई त्यहाँ आमा हुन्छिन् ।

‘आमा !’
‘हईऽऽऽ’
‘कापी छैन, मसी छैन !’
अभावका श्रृङ्खला टेकेर
दुईछाक पेट खाली राख्छिन् जरुर
तर बाबु नहुनुको पीडा र
अभावको अनुभव हुन दिन्नन्
किनकि आमा ममताकी खानी हुन् ।

प्रेमको उद्यानमा
आमा माली हुन् ।
पटुकीभित्र गाँठो परिहाल्छन्–
मेलापात गर्दा
कतै भेटिएको एउटा बेलौती होस्
या एउटा केराको कोसो,
या लाहुरबाट कसैले ल्याएको
एउटा मिठाई होस्,
र त्यो गाँठो फुस्कन्छ,
आँगनको डीलमा बसेर
त्यहाँ, जहाँ बचेराहरु आँऽऽ–आँऽऽ गर्नेछन्
र पटुकी खोतल्नेछन् ।

यसैगरी बितेका थिए क्यारे
आमाका
तीन बीसऽ दश बसन्त भनूँ
या अझै भनूँ तीन बीसऽ दश झरी
तीन बीसऽ दश बादल
तीन बीसऽ दश खडेरी
र रित्तिएकी थिईन् क्यारे
पाखुरीका तागतबाट ।
तर कहिल्यै
यो सोच आएन बचेरामा
कि,
उसको पँखेटामा
ममताको हावा भरिएको छ,
जसको सहाराले उडान भरिएका छन्
रोकिनु नपर्ने गरी ।
कि,
आज डाली–डाली नाचिएको छ
तिनै माउको बलिदान, त्याग र आशिर्वादले ।

र त,
तीन दशक अगाडी,
बुढेशकालको सहारा मानिएको बचेरा
यही बृद्धाश्रममा माउलाई छाडेर
बाटो लागेथ्यो
र कहिल्यै फर्केको थिएन ।
जुन बृद्धाश्रममा आज
ऊ आफैँ प्रत्युत्तर खोजिरहेको छ ।
बालस्मृतिका पन्नाहरु
पल्टाई रहेको छ ।
हिजो आमालाई बिर्सेर
आज सम्झँदा महान देखेको छ,

किनकि,
जो हिजो बचेरा थियो,
उही आज ‘माउ’ भएर सोचिरहेको छ ।

ऊ बिक्षिप्त छ,
किनकि,
त्यही बृद्धाश्रमको ढोकाबाट
हरपल चियाईरहेछन्
करुणा भरिएका ती आँखाले
जुन अतृप्त आँखालाई
अन्तिम पटक उसले
यहीँ छोडेको थियो
र अब कहिल्यै भेट्नेछैन ।

धन्यवाद !

Comments

Popular Posts