बृद्धाश्रमको ढोकाबाट
कविताः बृद्धाश्रमको ढोकाबाट भीरैभीर, पाखैपाखा जब दौडिन्छन् यादका बालापनहरु त्यहाँ आमा हुन्छिन् । पँधेरोमा शनिबारे होहल्लामा चिप्लिएर जब चोट लाग्छ घुँडामा त्यहाँ आमा हुन्छिन् । गोठालोबाट ‘तिल्की गाई’ बत्तिएर पस्छिन् छिमेकीको बालीतिर र बेलुका जब छिमेकी तगारो कुर्दछन्, बचाउनलाई त्यहाँ आमा हुन्छिन् । – ‘आमा !’ – ‘हईऽऽऽ’ – ‘कापी छैन, मसी छैन !’ अभावका श्रृङ्खला टेकेर दुईछाक पेट खाली राख्छिन् जरुर तर बाबु नहुनुको पीडा र अभावको अनुभव हुन दिन्नन् किनकि आमा ममताकी खानी हुन् । प्रेमको उद्यानमा आमा माली हुन् । पटुकीभित्र गाँठो परिहाल्छन्– मेलापात गर्दा कतै भेटिएको एउटा बेलौती होस् या एउटा केराको कोसो, या लाहुरबाट कसैले ल्याएको एउटा मिठाई होस्, र त्यो गाँठो फुस्कन्छ, आँगनको डीलमा बसेर त्यहाँ, जहाँ बचेराहरु आँऽऽ–आँऽऽ गर्नेछन् र पटुकी खोतल्नेछन् । यसैगरी बितेका थिए क्यारे आमाका तीन बीसऽ दश बसन्त भनूँ या अझै भनूँ तीन बीसऽ दश झरी तीन बीसऽ दश बादल तीन बीसऽ दश खडेरी र रित्तिएकी थिईन् क्यारे पाखुरीका तागतबाट । तर कहिल्यै ...